रेडिङ । मगर संघ युकेले विविध कार्यक्रमका साथ मगर एकता दिवस मनाएको छ ।

गत शनिबार २४ फेब्रुअरी २०१८ का दिन रेडिङस्थित रिभरमेड लिजर सेन्टरमा ३६ औं मगर दिवस मनाइएको हो । नेपालका आदिवासी जनजातिहरुमध्ये सबैभन्दा धेरै संख्यामा रहेको मगरहरुको आफ्नै मौलिक परम्परा, भाषा, कला र संस्कृति रहेको छ । देशविदेशमा बसोबास गर्ने मगरहरुले विगत ३६ वर्षदेखि फागुन १५ गतेलाई ऐतिहासिक मगर एकता दिवसको रुपमा मनाउँदै आउने क्रममा मगर संघ युकेले समेत बेलायतमा प्रत्येक वर्ष विविध कार्यक्रमका साथ मनाउने गरेको हो ।

बेलायतमा बसोबास गर्ने मगरहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रमलाई नेपाली दूतावास लन्डनका सेकेन्ड सेक्रेटरी लव सुवेदी, एनआरएनए युकेका अध्यक्ष योगकुमार फगामी, ब्रिटिस आर्मीका ले.क. याम राना, मगर गड ट्योलेन्ट–२०१७ र मगर संघ युकेका अध्यक्ष नेम थापाले संयुक्त रुपमा दीप प्रज्ज्वलन गरी उद्घाटन गरेका थिए । सो अवसरमा मगर संघ यूकेका पूर्वअध्यक्षहरु, विभिन्न ब्रान्चका अध्यक्ष, मगर महिला र सल्लाहकारहरुले रिबन काटेर कार्यक्रमको आकर्षण बढाएका थिए ।

कार्यक्रममा विभिन्न विषय र तहमा उच्च शिक्षा हासील गरेका मगर विद्यार्थीहरुलाई सम्मान गरिएको थियो । त्यस्तै, पाराओलम्पियन नेत्र राना, छोटो समयमा सगरमाथा आरोहण गरी गिनिज बुकमा नाम लेख्न सफल निर्मल पुर्जा, मगर पत्रकार संघ युकेका अध्यक्ष मनसुधन थापा, हालै ब्रिटिस आर्मीको लेप्टिनेन्ट कर्णेलमा बढुवा भएका मेजर टोल खाम्चा, हालै एमबीई उपाधि पाउन सफल मेजर शान्त पुनलाई बधाईसहित सम्मान गरियो । त्यस्तै मेजर चिन थापा र मेजर चन्द्र पुन हालै रेगुलर कमिशनमा छनोट भएकोमा उहाँहरुलगायत सम्मानित व्यक्तिहरुलाई खादा, अबिर, फेटा तथा पूmलले सम्मान गर्दै बधाइ दिएका थिए । कार्यक्रममा धीर थापाको ‘बिहानी एल्बम’को समेत विमोचन गरिएको थियो ।

कार्यक्रमको दोस्रो चरणमा मगर संघ युकेका सांस्कृतिक सचिव तुलचन्द्र पुन मगरले मगर कल्चर र मगर ट्यालेन्ट कार्यक्रमलाई सुरुआत गरेका थिए । आफ्नो कला र संस्कृति झल्किने झाँकीहरु प्रस्तुत् गरिएको कार्यक्रममा गत वर्षबाट सुुरु भएको मगर गड ट्यालेन्ट प्रस्तुत् गरिएको थियो । ८ जना प्रतिस्पर्धीले भाग लिएको सो गड ट्यालेन्टमा मिफुरुङ्ग नाटक समूह प्रथम भए भने संगीता थापा दोस्रो र निर्मल मगर तेश्रो बने । उनीहरुलाई क्रमशः ५००, ३०० र १५० पाउन्ड नगद पुरस्कार प्रदान गरिएको थियो । मगर युथ अध्यक्ष दिप राना, सरु राना, पहलसिं थापा र थिर थापाले निर्णायकको भूमिका खेलेका थिए भने याम थापा र यामुना आलेले कार्यक्रम सञ्चालन गरेका थिए ।

झाँकीतर्फ प्रथम गुल्मेली नौमती बाजाका सल्लाहकार ओमप्रसाद थापा, क्याट्रिक शाखा अध्यक्ष कप्तान भक्त थापा एमभिओ, पुन मगर समाजका तेज राम्जाली, बिल पुर्जा, स्वीन्डन शाखाका अध्यक्ष भीम पुन, रिडिङ्ग शाखाका अध्यक्ष टिकाजी राना, प्लमस्टीड शाखा अध्यक्ष केश आले, वेम्ली शाखा अध्यक्ष कृष्णराज राना, केन्ट शाखा अध्यक्ष बिजय हितान र केन्ट शाखा बाट र यूएचएसबी शाखाका अध्यक्ष लेख रानालगायतको समूहले मगर संस्कृति झल्कने झाँकी प्रस्तुत् गरेका थिए । झाँकी कार्यक्रमलाई सचिव रुद्र थापाले सञ्चालन गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि लव सुवेदी, विशेष अतिथि योगकुमार फगामीले शुभकामना मन्तब्य दिएका थिए भने एनआरएनए उपाध्यक्ष प्रेम गाहा मगरले ३१ मार्चमा एनआरएनए युकेले आयोजना गर्न लागेको च्यारिटी कार्यक्रमको बारेमा जानकारी गराएका थिए । त्यस्तै, मगर संघ युकेका सल्लाहकार रमेश सराङ्गकोटीले मगर दिवसको बारेमा बोलेका थिए भने मगर संघ युकेकी ट्रष्टी गोमा राना, खामभाषी मगर समाज युकेका हिक्मत सिं रोका र मगर महिला संघकी सचिव पार्वती थापाले मगरहरुको कला र भेषभूषाको बारेमा जानकारी गराइएको संघका महासचिव लाल पुनले बताए ।

गुल्मी जिल्ला नौमति बाजा समूहले नौमती बजाएर पाहुनाहरुलाई स्वागत गरिएको कार्यक्रमलाई मगर संघ युकेका अध्यक्ष नेम थापाले अध्यक्षता गरेका थिए भने उपाध्यक्ष अनिता रानाले स्वागत मन्तब्य र सचिव रुद्र थापाले हेल्थ एन्ड सेफ्टीको बारेमा जानकारी दिएका थिए । महासचिव लाल पुनले औपचारिक कार्यक्रमको सञ्चालन गरेका थिए ।