लण्डन ।बेलायत स्थित नेपालीहरुको  प्रमुख संस्थाहरुमध्ये कै मगर संघ युकेले नेपालमा यस बर्ष आएको बाढी-पहिरो प्रभावित भएका मगर परिवारहरुलाई आर्थिक सहयोग गरेको छ ।

मगर संघ केन्द्रिय कार्यसमितिको आह्वानमा अन्तराष्ट्रिय मगर सँघको समन्वयमा ८ ठाँउमा गरी ७ लाख ५५ हजार आर्थिक सहयोग गरिएको संघका महासचिब रुद्र थापा मगरले जानकारी दिए । 

बुधबार सेप्टेम्बर १६ तारिकका दिन मगर संघ नेपाल र मगर संघ युकेका लिन्क मेन मेजर कृष्ण कुमार आले मगरले नेपाल मगर संघका अध्यक्ष नबिन रोका मगर लाइ हस्तान्तरण गरेका हुन।

संघले म्याग्दीका बाढी पहिरो पीडितलाइ २ लाख २५ हजार सहयोग गरेको छ भने बाग्लुङ्गमा २ लाख, रोल्पामा १ लाख,पर्वतमा ७० हजार, गुल्मीमा ५० हजार,स्याङ्जामा ४० हजार, कास्कीमा ३५ हजार र तनहुँका बाढीपहिरो पीडितलाइ ३० हजार रुपैया सहयोग गरिएको  संघका केन्द्रिय अध्यक्ष नविन रोकाले बताए ।

मगर संघले विशेष गरी मगर समुदायमा परेका विभिन्न समस्याहरु समाधानको निम्ती हातमा हात मिलाउँदै आएको छ। 

यस अघि पनि मगर संघ युके युथका अध्यक्ष किशोर राना मगरको विशेष अगुवाइमा अर्थ संकलन गरि नेपालका महामारी प्रभावित मगर परिवार र युकेमा अध्ययनरत मगर विद्यार्थीहरुलाइ सहयोग गरिएको थियो ।

त्यतिमात्र नभएर  भिसि कुल बहादुर थापाको सालीक बनाउने अभियानमा पनि यस संघले सहयोग गरेको छ ।

संघले चालेको कदमहरुमा सक्रिय रुपमा साथ दिएकोमा मगर संघ यूकेका अध्यक्ष शुनिल राना मगरले सबै सहयोगीलाई आभारका शब्दहरु ब्यक्त गरे ।

त्यतिमात्र नभएर मगर समुदायको हक र अधिकारको उत्थानको निम्ती हरपल हाम्रो यात्रा जारी रहनेछ”।उनले भने”

संघले युके मात्र नभएर विश्वरभर छरिएर रहेका मगर समुदायलाइ एकताको शुत्रमा बाध्ने अभियान रहेको समेत अध्यक्ष शुनिल रानाले लन्डन नेपाल न्यूज लाई  बताए ।