लाल पुन –

फार्नबोरो। मगर संघ युकेले विविध कार्यक्रमका साथ मगर दिवस मनाउने भएको छ।

गत शनिबार २० जनवरी २०१८ का दिन फार्नबोरोस्थित मगर भवनमा बसेको मगर संघ युकेको बैठकले सो निर्णय गरेको हो। मगर दिवसलाई भव्य रुपमा मनाउन संघकी उपाध्यक्ष अनिता रानाको प्रमुख संयोजकत्वमा उपसमिति गठन भएको छ। रेडिङ्गमा मनाउन लागेको दिवसलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि प्रमुख संयोजक रानाले विभिन्न उपसमितिका साथै संघका सबै इकाईहरुलाई आवश्यक तयारी गर्न अनुरोध गरिन्। बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिका धनी मगरहरुले सो दिवसमा मगरहरुको परम्परा, संस्कृति र भेषभूषा झल्किने सांस्कृतिक प्रस्तुति दिने भएको छ। सांस्कृतिक कार्यक्रमलाई व्यवस्थित गर्नका लागि सांस्कृतिक सचिव तुलचन्द्र तिलिजालाई जिम्मेवारी प्रदान गरेको छ।

कार्यक्रमको प्रमुख अतिथिका लागि बेलायतका लागि नेपाली राजदूतलाई र विशेष अतिथिका लागि नेपाल मगर संघका अध्यक्ष नविन रोकालाई निमन्त्रणा गर्ने निर्णय गरेको छ। त्यस्तै, कार्यक्रममा बेलायतस्थित जनजाति संघ संस्थाहरुका अध्यक्षहरुलाई समेत निम्तो दिने भएको छ। कार्यक्रममा विविध संस्कृति झल्काउने उद्देश्यअनुरुप हरेक शाखाले कम्तीमा १÷१ वटा नृत्य प्रस्तुत् गर्न प्रमुख संयोजक रानाले शाखाहरुलाई अनुरोध गरिकी छन्।

गोल्ड, सिल्भर र ब्रन्च प्रायोजन गर्न चाहनेहरु व्यक्ति वा व्यापारी संस्थाहरुलाई क्रमशः २००, १०० र ५० पाउन्ड सहयोग रकम तोकिएको छ भने भीआईपी टिकटका लागि २५ पाउन्ड प्रवेश शुल्क तोकिएको छ। कार्यक्रममा आउन सहज होस् भन्नाका लागि विभिन्न सहरबाट बसको व्यवस्थापन गरिने भएको छ। त्यस्तै, मञ्च डोकोरेशनलगायतको जिम्मा भने रेडिङ्ग शाखालाई दिइएको आयोजकले जनाएको छ।

संघका अध्यक्ष नेम थापाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमलाई महासचिव लाल पुनले सञ्चालन गरेका थिए।