मगर संघ यूएचएसबी शाखाले मनायो माघे संक्रान्ति तथा पितृ पूजा

मगर संघ यूएचएसबी शाखाले मनायो माघे संक्रान्ति तथा पितृ पूजा

लण्डन

ओम थापा -

बेलायत । मगर संघ युकेको यूएचएसबी शाखाले माघे (मकर) संक्रान्ति तथा पितृ पूजा धुमधामका साथ मनाएको छ ।
बेलायतको फान्ब्रोस्थित पुरानो अकफम स्कुलमा गत १३ जनवरी शनिबार मगरहरूको राष्ट्रिय सांस्कृतिक महान् चाड धुमधामसँग मनाइएको हो । शाखाले विगत दस वर्षदेखि हरेक वर्ष मनाउँदै आएको छ । यस वर्ष भने शाखाको दसौं स्थापना दिवसको रूपमा विभिन्न कार्यक्रम गरी मनाएको मगर संघ यूएचएसबी शाखाले बतायो । 
मगरहरूको पौराणिक पितृ पूजा मगर पूजारी ओम थापा काउचा मगरको संयोजकत्वमा परम्पराअनुरूप तीनजना पूजारीहरू गणेश थापा मगर, पितृ पूजारीद्वय ओमबहादुर थापा मगर, होम श्रीस मगरले सञ्चालन गरे । प्रथम नौमती बाजा गुल्मी युके समूहको बाजाको धुनको साथ पूजा शुभारम्भ गरिएको थियो । शाखाका उपाध्यक्ष हेमा रानाको नेतृत्वमा लेडिज कमिटीहरूका अध्यक्ष पदम थापासहित दिदीबहिनीहरूबाट तयार पारिएको मगरहरूको मौलिक प्रसाद तरूल, कन्दमुल, खिचदी, बारा रोटी वा बटुक रोटी सबै भक्तजनहरूले ग्रहण गरेका थिए ।
लगत्तै सचिव वीर बलालले सुरु गरेको औपचारिक कार्यक्रमको अध्यक्षता शाखा अध्यक्ष लेख रानाले गरेका थिए । प्रमुख अतिथिमा गैरआवासीय नेपाली संघ बेलायतका अध्यक्ष योगकुमार फगामी थिए । विशेष अथितिहरूमा रसमोर ब्रोरो काउन्सिलका लिडर काउन्सिलर डेभेट क्याफोड र केन्द्रीय मगर संग युकेका (पेयाट्रन) घन थापा मगर, गैरआवासीय संघ बेलायतका उपाअध्यक्ष डा. प्रेम आले मगर, सो शाखाका संस्थापक अध्यक्ष ले.री. सुनिल राना मगर थिए । यसैगरी, मगर संग युकेका पूर्वअध्यक्ष तथा वर्तमान सल्लाहकारहरू मेजर रि. कुल थापा मगर, निवर्तवान अध्यक्ष दुत पुन, गैरआवासीय नेपाली संघ बेलायत महासचिव आरके त्रिपाठी, आईसीसीका सदस्य शान्ति कुँवर मगर साथै मगर संघ युकेका वर्तमान उपाध्यक्ष सीता पुन, संस्थापक महिला संयोजक तथा टस्टीमेम्बर गोमा राना, शाखाका निवर्तमान अध्यक्ष के.रि.ताम ढेगा र अन्य शाखाका अध्यक्ष साथै प्रतिनिधिहरूको उपस्थिति थियो ।
सम्पूर्ण आमन्त्रित, प्रमुख अतिथि र संस्थापक अध्यक्षले दसौं बार्षिकोत्सवको केक काटेपछि सांस्कृतिक कार्यक्रम सुरु गरिएको थियो । कार्यक्रममा लेडिज कमिटीले प्रस्तुत गरेको मगरहरूको कौडा नाच अति रोचक रह्यो । सिनीयर सिटीजन आमा समूह (मद्दत समूह)ले लोकप्रिय सोरठी नाच, नवयुवाहरू सुरक्षा राना साथै पुष्पा रानाको समूहले आकर्षक नाच देखाए । 
कर्यक्रममा नेपालबाट बेलायत आएका राष्ट्रिय कलाकार विमाकुमारी दुरा, गायक सन्तु थापा, गायिका मन्जु विक, गायक मनसुधन थापाले मिठामिठा गीत गाएर दर्शकलाई भरपूर मनोरञ्जन गराउन र नचाउन सफल भए । स्थानीय कलाकार के.रि. वीर थापा गाहा र तुल्चन्द्र तिलिजाले पनि साथ दिए भने प्रथम नौमती बाजा गुल्मी युके समूहको पनि साथ रह्यो । 
प्रमुख अतिथि एनआरएनए युकेका अध्यक्ष योग फगामीले नेपाली बहुभाषी र बहुसंस्कृति बोकेको मगरहरूको पौराणिक पितृ पूजामा सहभागी हुन पाउँदा गौरव लागेको बताए । उनले त्यस अवसरमा विश्वभरिका मगरहरूलाई शुभकाना प्रकट गरे । केन्द्रका उपाध्यक्ष सिती पुनले मगर संघ युकेको एक जग, पिलरको भूमिका निभाएको र मगरको पौराणिक संस्कार संरक्षणमा उल्लेखनीय भूमिका खेलेको भन्दै केन्द्रको तर्फबाट धन्यवाद र शुभकामना प्रकट गरिन् । 
कार्यक्रममा संस्थाका उपाध्यक्ष ऋषि रानाले स्वागत मन्तव्य दिएका थिए भने सल्लाहकार तथा पूजारी संयोजक ओम थापा काउचाले माघे संक्रान्ति पर्व र पितृपूजाको विषयमा प्रस्ट्याए । साना नानीहरू अर्जुन थापा र नानी सिओना थापा मगरले अंग्रेजी भाषामा माघे संक्रान्तिको विषयमा लेख बाचन गरे । 
शाखा अध्यक्ष लेख रानाले कार्यक्रमका संयोजकहरू र उपस्थित सबैलाई विशेष धन्यवाद दिए । सोही दिन मगर संघ बेलायतका अन्य शाखाहरू रिडिङ, केन्ट, लन्डन, वेल्स साथै स्वीन्डनले आआफ्नो ईलाकामा घुमधामसँग माघ संक्रान्ति मनाएका थिए ।

Upcomming Events

  • Magar Diwas 2018
    Rivermead Leisure Complex , Richfield Avenue, Reading, RG1 8EQ
    on 24-02-2018

Latest Photos

Photos

Featured Video

Find Us on Facebook

Promotions